बालकको हत्या आरोपमा एक पक्राउ
पूर्णपुष्टि, साउन ३ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा एक बालकको कुटपिटबाट मृत्यु भएको छ । ४५ वर्षीय विर बहादुर विश्वकर्माले कुटपिट गर्दा ६ वर्षीय बालक अबि बि.क.को मृत्यु भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार हिजो दिउँसो मादक पदार्थ सेवन गरेका विश्वकर्माले बालकले लगाएको सुनको मुन्द्री तान्न खोज्दा बालकले इन्कार गरेपछि उनलाई शरीरको विभिन्न भागमा कुटपिट गरेका थिए। घाइते बालकलाई बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ र उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।...









