मतदानमा उत्साह कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा
काठमाडौँ, बैशाख ३०
शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौँका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् ।
आजदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो । जनताको घर आँगनसँग जोडिने स्थानीय सरकार चयनका लागि मतदाता आआफ्ना घर तथा गाउँ बस्तीमा पुग्दा काठमाडौँ उपत्यका दुलही घरजस्तै देखिन्छ ।
सडक सुनसान छन् । चोकचोकमा रहेका सुरक्षाकर्मीले अनुमति नलिइकन चलाएका सवारीलाई रोकेर सोध्ने र होल्डमा राख्ने गरिरहेका छन् । नागरिकमा एक प्रकारको उत्साह छ । नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने विश्वासका बीच आज मतदान भइरहेको हो ।
नेपाली सामाजिक मान्यताअनुसार मर्दा पर्दा भेटिने सरकार नै स्थानीय सरकार हो । प...







