बाढीले पुल बगाएपछि खोटाङवासी पुरानै कष्टकर जीवनमा
पूर्णपुष्टि, असोज १५ । सुनकोसी नदीमा निर्माण गरिएको २२ करोड ६७ लाख लागतको फोक्सिङटार पुल बाढीले बगाएपछि खोटाङवासीको दैनिक जीवन कष्टकर बनेको छ । २०७८ कात्तिक ९ देखि सञ्चालनमा आएको १२० मिटर लामो उक्त पक्की पुलले खोटाङलाई उदयपुर, सुनसरी, मोरङ लगायत तराईका जिल्लासँग जोडेको थियो ।
पुल निर्माणअघि खोटाङवासीले दैनिक उपभोग्य वस्तुका लागि तीन दिनसम्म हिँडेर उदयपुरको गाईघाट र बेलटार बजार पुग्नुपर्थ्यो । सडक सञ्जालमा नजोडिएकाले जिल्ला पूर्वको 'कालिकोट'को रूपमा चिनिन्थ्यो । तर पुल बनेपछि धरान, विराटनगर, इटहरी, झापा र धनकुटासम्म सजिलै पुग्न सकिन्थ्यो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थ भट्टराईका अनुसार पुल निर्माणले स्वास्थ्य उपचार, उच्च शिक्षा र व्यापार-व्यवसायमा सहजता ल्याएको थियो । साथै पर्यटक आगमन र निजी लगानी पनि बढ्न थालेको थियो । तर तीन वर्ष नबित्दै पुल बगाएपछि जिल्लावासीको खुसी ...








