कार्य प्रगतीमा अघी बढ्दै उदयपुर जिल्ला अदालत
पूर्णपुष्टि/उदयपुर, असार ३२ ।
उदयपुर जिल्ला अदालतले दुई वर्षभन्दा पुराना मुद्दाको संख्या शून्यमा झार्दै पुराना मुद्दा फछ्र्यौट अभियानलाई सफल बनाएको छ । आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण सार्वजनिक गर्दै अदालतले दुई वर्ष नाघेका फैसला कार्यान्वयनका कुनै पनि मुद्दा बाँकी नरहेको जनाएको हो ।
अदालतका जिल्ला न्यायाधीश मुकेश उपाध्यायका अनुसार पुराना मुद्दा समयमै टुंग्याउने नीतिले प्रभावकारी परिणाम दिएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा अदालतले लक्ष्यको १०२ दशमलब ३३ प्रतिशत प्रगति हासिल गरेको छ । हाल १८ महिना नाघेका फछ्र्यौट हुन बाँकी ६ वटा मुद्दा मात्र रहेका छन् ।
अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिम्मेवारी सरी आएका र नयाँ दर्तासहित कुल २ हजार ४ सय ८७ मुद्दामध्ये १ हजार ६ सय २९ मुद्दा फछ्र्यौट गरिएको छ, जुन ६७ दशमलब ०२ प्रतिशत हो । अब ८ सय २० मुद्दा मात्र बाँकी रहेका छन् ।
...









